मुख्य कुरा
- असोज २५ देखि कात्तिक ८ सम्म देशभर १ हजार ३३९ सवारी दुर्घटनामा १२४ जनाको मृत्यु र २ हजार ९८८ जना घाइते भए।
- घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर रहेको छ।
- सबैभन्दा धेरै दुर्घटना कोशी प्रदेशमा (३९७) र सबैभन्दा कम मधेशमा (८०) भएका छन्।
- दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल (१ हजार ५५२) संलग्न रहेका छन्।
- ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारीसाधन कारबाहीमा परेका छन्।
काठमाडौं, ९ कात्तिक । यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने २ हजार ९८८ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म देशभर १ हजार ३३९ वटा सवारी दुर्घटना भएका हुन्।
दुर्घटनामा मृत्यु हुनेमा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिका रहेका छन्। घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर रहेको छ भने २ हजार ५५१ जना सामान्य घाइते भएका छन्।
नेपाल प्रहरीका अनुसार उक्त अवधिमा सबैभन्दा धेरै दुर्घटना कोशी प्रदेशमा भएका छन्। कोशीमा ३९७ वटा दुर्घटना हुँदा मधेश प्रदेशमा सबैभन्दा कम ८० वटा दुर्घटना भएका छन्। अन्य क्षेत्रमा काठमाडौं उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिममा १५० वटा दुर्घटना भएका छन्।
दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेका छन्। प्रहरीको तथ्यांकअनुसार मोटरसाइकल १ हजार ५५२ वटा, जिप तथा कार ३३७ वटा, टेम्पो २०७ वटा, ट्रक तथा ट्याङ्कर ७१ वटा, माइक्रोबस ६४ वटा र बस ५४ वटा दुर्घटनामा संलग्न भएका छन्। यसबाहेक ट्र्याक्टर ३८, टिपर १५, डोजर, स्काभेटर तथा लोडर १० र अन्य १३३ वटा सवारीसाधन दुर्घटनामा परेका छन्।
गत वर्षको दसैं अवधिमा देशभर १ हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए। यस वर्ष दुर्घटनाको संख्या गत वर्षको तुलनामा घटेको प्रहरीको तथ्यांकले देखाएको छ।
ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारीसाधन कारबाहीमा
दसैं अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारीसाधनलाई कारबाही गरिएको नेपाल प्रहरीले जनाएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २ हजार ७९४, सिट क्षमताभन्दा बढी यात्रु राख्ने १ हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ वटा रहेका छन्।
त्यस्तै, यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ वटा सवारीसाधन कारबाहीमा परेका छन्। लामो दूरीका सवारीसाधनको निगरानीका लागि प्रयोग गरिने ट्राफिक कम्युनिकेसन एप्लिकेसन (टीसीए) अन्तर्गत नौ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।
चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले यात्रु सहायता कक्ष स्थापना गरी सुरक्षा र आवागमन सहज बनाउन विशेष व्यवस्था गरिएको थियो
अबि नारायण काफ्ले
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले यात्रु सहायता कक्ष स्थापना गरी सुरक्षा र आवागमन सहज बनाउन विशेष व्यवस्था गरिएको थियो।
सवारीसाधन गन्तव्यतर्फ पठाउनुअघि चालक अनुमतिपत्र, मादक पदार्थ तथा लागूपदार्थ सेवन, सिट क्षमताअनुसार यात्रु राखे–नराखेको र सवारीको यान्त्रिक अवस्था जाँच गरिएको प्रहरीले जनाएको छ। लामो दूरीका सवारीसाधनमा दुई जना चालक भए–नभएको समेत परीक्षण गरिएको थियो।
देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत प्रहरीले देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरेको थियो। अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क सञ्चालन गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरिएको प्रहरीले जनाएको छ।
तीव्र गति, ओभरटेक, मादक पदार्थ तथा लागूपदार्थ सेवनलगायतका कारण हुने दुर्घटना न्यूनीकरण गर्न नियमित तथा आकस्मिक जाँचलाई निरन्तरता दिइएको प्रहरीको भनाइ छ।
आगामी दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि थप सुरक्षा योजना कार्यान्वयन गरिरहेको जनाएको छ।
ट्राफिक नियम उल्लङ्घन गरेको देखेमा नजिकको प्रहरी कार्यालय वा प्रहरीका १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा खबर गर्नु।
नेपाल प्रहरी
ट्राफिक नियम उल्लङ्घन गरेको देखेमा नजिकको प्रहरी कार्यालय वा प्रहरीका १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा खबर गर्न नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?
१ प्रतिक्रिया






प्रतिक्रिया