मुख्य कुरा
- प्याब्सन झापाले १ करोड ८ लाखभन्दा बढी राहत जुटायो ।
- विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिता ।
- केन्द्रीय राहत कोषमा ८९ हजार रुपैयाँ पठाइयो ।
झापा, १८ असोज । बाढीपहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा बालबालिकाको शिक्षालाई निरन्तरता दिन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले १ करोड ८ लाख ३० हजार ४ सय ३५ रुपैयाँ सहयोग जुटाएको छ ।
नेपाल सरकार तथा प्याब्सन केन्द्रको आह्वानपछि जिल्लाका सदस्य विद्यालयमार्फत राहत रकम संकलन गरिएको प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिए। राहत संकलन अभियानमा विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको उनले बताए ।
अध्यक्ष कार्कीका अनुसार सदस्य विद्यालयबाट ९५ लाख ४३ हजार २९ रुपैयाँ प्याब्सन झापाको खातामा जम्मा भएको थियो। उक्त रकममध्ये पहिलो चरणमा ७५ लाख ९३ हजार ९ सय ४७ रुपैयाँ र दोस्रो चरणमा १९ लाख ४९ हजार ८२ रुपैयाँ संकलन भएको प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
संकलित रकममध्ये ८९ हजार रुपैयाँ प्याब्सन केन्द्रीय राहत कोषमा पठाइएको छ। त्यस्तै, सदस्य विद्यालयहरूले आफ्नै पहलमा प्रधानमन्त्री राहत तथा दैवी प्रकोप कोषमा ११ लाख ९८ हजार ४ सय ६ रुपैयाँ जम्मा गरेका छन् ।
प्याब्सन झापाले विपत्तिका समयमा तत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापना तथा बालबालिकाको शिक्षालाई निरन्तरता दिन आवश्यक सहयोगमा समेत ध्यान दिनुपर्ने जनाएको छ । राहत संकलनमा विद्यालय परिवारको सामूहिक सहभागिताले विपद्को समयमा निजी क्षेत्रका शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्वलाई समेत देखाएको प्याब्सनको भनाइ छ ।






प्रतिक्रिया