मुख्य कुरा
- कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ।
- करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी छ।
- कार्यक्रम दसैँका कारण कात्तिक २ र ३ गतेबाट सारिएको हो।
- ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछन्।
- सन् १९९३ देखि भिटामिन ‘ए’ र सन् १९९९ देखि जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ।
काठमाडौं । सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ। यस्तै, करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने भएको छ।
दसैँका कारण नियमित तालिकामा परिवर्तन गर्दै आर्थिक वर्ष २०८३/०८४ को पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागिएको हो। यसअघि कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन गर्ने तयारी थियो।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ।
लिलाविक्रम थापा
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइनेछ।
विभागले कार्यक्रम सञ्चालनका लागि आवश्यक भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकेको जनाएको छ। कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ।
बालबालिकामा हुन सक्ने स्वास्थ्यसम्बन्धी जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले सन् १९९३ (वि.सं. २०५०) देखि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसैगरी, सन् १९९९ (वि.सं. २०५६) देखि जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरिएको हो।
सरकारले नियमित रूपमा सञ्चालन गर्दै आएको यो अभियानले बालबालिकाको स्वास्थ्य सुधार तथा पोषणसम्बन्धी जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरेको छ।






प्रतिक्रिया