मुख्य कुरा
- आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासँगै बडादशैं औपचारिक रूपमा समापन हुँदैछ।
- साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा छ।
- आज अखिल बलिपूर्तिको कार्य सम्पन्न हुने र टीका-जमरा ग्रहणको क्रम अन्त्य हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
- दशैंको जमरा आज नदी, तलाउ तथा पवित्र तीर्थस्थलमा विसर्जन गर्ने चलन छ।
- कात्तिक ९ गते सोमबारदेखि कार्तिक स्नान र आकाशदीपदान सुरु हुनेछ।
दमक । नेपालीहरूको प्रमुख पर्व बडादशैं आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाको साँझ धनधान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर कोजाग्रत पूर्णिमा मनाउने परम्परा छ।
धार्मिक मान्यताअनुसार, कोजाग्रत पूर्णिमाको रात जाग्राम बस्ने भक्तजनका घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन् भन्ने विश्वास छ। यही विश्वासका आधारमा साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बसेर यो पर्व मनाइन्छ।
धार्मिक मान्यताअनुसार, कोजाग्रत पूर्णिमाको रात जाग्राम बस्ने भक्तजनका घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन् भन्ने विश्वास छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज शास्त्रीय विधिअनुसार गरिने अखिल बलिपूर्तिको कार्य पनि सम्पन्न हुन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने क्रम अन्त्य हुन्छ। दशैंमा प्रयोग गरिएको जमरा पनि आज नदी, तलाउ तथा अन्य पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने चलन छ।

आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने दुर्गा पक्ष नवरात्र र विजयादशमीपछि पनि पूर्णिमासम्म जारी रहने भएकाले कोजाग्रत पूर्णिमालाई बडादशैंको अन्तिम दिनका रूपमा लिइन्छ। यस दिनलाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
माता दुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको विशेष पूजा गरिने भएकाले यस दिनको धार्मिक महत्त्व रहेको छ। परम्पराअनुसार कोजाग्रत पूर्णिमाको रात जुवा खेल्ने चलनसमेत रहेको छ। यस दिन महालक्ष्मीसँगै हात्तीमा सवार देवराज इन्द्रको पनि पूजा गरिन्छ।

यसैबीच, समितिबाट स्वीकृत पात्रोअनुसार कात्तिक ९ गते सोमबारदेखि कात्तिक स्नान, तुलसीको विशेष पूजा आराधना तथा आकाशदीपदान सुरु हुने उल्लेख छ। कोजाग्रत पूर्णिमासँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादशैं पर्व औपचारिक रूपमा समापन हुन्छ।






प्रतिक्रिया