मुख्य कुरा
- कात्तिक १५ देखि २० गतेसम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन्।
- दैनिक औसत ५२४ जना पर्यटक गाउँ भित्रिएको वडाध्यक्ष देविजङ्ग गुरुङले बताए।
- कात्तिक १८ गते सबैभन्दा बढी ७१९ र १५ गते सबैभन्दा कम २५४ जना पर्यटक आए।
- अधिकांश पर्यटक कोरी र हिमनदी ताल क्हफुचेको पदयात्रामा निस्कने गरेका छन्।
- पोखराबाट करिब ३८ किलोमिटर टाढा रहेको सिक्लेसमा करिब ४०० घरधुरी छन्।
पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको चहलपहल बढेको छ। पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले सिक्लेसको भ्रमण गरेका छन्।
मादी गाउँपालिका–१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५ देखि २० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका हुन्। उक्त अवधिमा दैनिक औसत ५२४ जना पर्यटक गाउँभित्रिएको उनले जानकारी दिए।
सिक्लेस पुग्ने अधिकांश पर्यटक गाउँमा केही समय बिताएपछि चर्चित पर्यटकीय गन्तव्य कोरी तथा हिमनदी ताल कापुचेको पदयात्रामा निस्कने गरेका छन्। छ दिनको तथ्याङ्कअनुसार कात्तिक १८ गते सबैभन्दा बढी ७१९ जना पर्यटक सिक्लेस पुगेका थिए। त्यसैगरी, कात्तिक १५ गते सबैभन्दा कम २५४ जना पर्यटक गाउँ पुगेका थिए।
पर्यटक आगमनमा भएको वृद्धिले स्थानीय होटल तथा घरबास (होमस्टे) व्यवसायीमा उत्साह थपिएको छ ।
देविजङ्ग गुरुङ
पर्यटक आगमनमा भएको वृद्धिले स्थानीय होटल तथा घरबास (होमस्टे) व्यवसायीमा उत्साह थपिएको वडाध्यक्ष गुरुङले बताए। पर्यटकीय गतिविधि बढेसँगै स्थानीय व्यवसायीसमेत उत्साहित बनेका छन्।
पोखराबाट करिब ३८ किलोमिटरको दूरीमा रहेको सिक्लेस प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति र मौलिक जीवनशैलीका कारण पर्यटकमाझ लोकप्रिय गन्तव्यका रूपमा परिचित छ। करिब ४०० घरधुरी रहेको यस गाउँमा गुरुङ समुदायको बाहुल्यता छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?
२ प्रतिक्रिया





प्रतिक्रिया