मुख्य कुरा
- महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयले आव २०८३/८४ को पहिलो त्रैमासिक समीक्षा गरेको छ।
- पहिलो त्रैमासिकमा ५२ जना सडक बालबालिकाको उद्धार भएको छ।
- हराएका २ हजार ३५६ मध्ये २ हजार ७७ बालबालिका फेला पारी परिवारको जिम्मा लगाइएको छ।
- जोखिममा रहेका २२६ बालबालिकाको उद्धार गरी संरक्षण गरिएको छ।
- बाल हेल्पलाइनमार्फत २ हजार ९७८ बालबालिकाले सेवा प्राप्त गरेका छन्।
काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिकता तथा लैङ्गिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा भएका काम तथा उपलब्धिको समीक्षा गरेको छ। मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) को बैठकमार्फत मन्त्रालय र मातहतका निकायको प्रगति, बजेट कार्यान्वयन तथा कार्यक्रम सञ्चालनमा देखिएका चुनौतीबारे छलफल गरिएको हो।
मन्त्री सिता बादीको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्यालसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा प्रस्तुत विवरणअनुसार पहिलो त्रैमासिक अवधिमा ५२ जना सडक बालबालिकाको उद्धार गरिएको छ। यसैगरी, देशभर हराएका २ हजार ३५६ बालबालिकामध्ये २ हजार ७७ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ। हिंसा तथा जोखिममा रहेका २२६ बालबालिकाको तत्काल उद्धार गरी संरक्षण गरिएको छ भने बाल हेल्पलाइनमार्फत २ हजार ९७८ बालबालिकाले राहत, उपचार, मनोविमर्श र कानुनी परामर्श सेवा प्राप्त गरेका छन्।
बैठकमा बाल संरक्षणसँगै महिला सशक्तिकरण, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार, सामाजिक सुरक्षा कोषको विस्तार र पुनर्स्थापना केन्द्रको पूर्वाधार विकासलगायतका विषयमा पनि प्रगति समीक्षा गरिएको थियो। ज्येष्ठ नागरिकको हेरचाह तथा सेवा केन्द्र सञ्चालनका विषयलाई समेत प्राथमिकताका साथ छलफलमा समेटिएको थियो।
त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालबालिका र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी कानुन संशोधन तथा दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयकको मस्यौदा तयारीबारे बैठकमा जानकारी गराइएको थियो।
विपद्का कारण प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार, राहत, संरक्षण र मनोसामाजिक सहयोगका लागि भएका कामको पनि समीक्षा गरिएको थियो। यसअघि भएका निर्णयको कार्यान्वयन अवस्था र विभिन्न मन्त्रालयबीच समन्वय गर्नुपर्ने विषयमाथि समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
बैठकले मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्ने तथा नीतिगत सुधार र अन्तरमन्त्रालय समन्वयलाई थप सुदृढ बनाउने विषयमा जोड दिएको छ।
बैठकले मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्ने तथा नीतिगत सुधार र अन्तरमन्त्रालय समन्वयलाई थप सुदृढ बनाउने विषयमा जोड दिएको छ।






प्रतिक्रिया