मुख्य कुरा
- प्रहरीले झापा, मोरङ र सुनसरीमा ब्राउन सुगर र गाँजासहित १३ जनालाई पक्राउ गरेको छ।
- विराटनगरको अल्का मार्गबाट १०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।
- दमकबाट ३ ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्।
- विराटनगर–१८ बाट भारतीय नागरिकसहित दुई जनालाई २४ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ।
- पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा, २२ असोज । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा प्रहरीले लागूऔषधविरुद्धको कारबाही तीव्र बनाएको छ। विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीमा प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगर र गाँजासहित १३ जनालाई पक्राउ गरेको छ।
विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीमा प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगर र गाँजासहित १३ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी
मोरङको विराटनगर महानगरपालिका–११ अल्का मार्गबाट मात्रै प्रहरीले १०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। लागूऔषध बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र सीआरभी केसलियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा ब्राउन सुगर बरामद गरेको हो।
पक्राउ पर्नेमा भारतको अररिया नरपतगन्जका २३ वर्षीय मनोहर यादव तथा सुनसरी देवानगन्ज गाउँपालिका–२ का २२ वर्षीय अर्बिन्द्र कुमार यादव र २३ वर्षीय अनिल कुमार यादव रहेका छन्।
यस्तै, झापाको दमकबाट प्रहरीले ३ ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमकका दिपक कुमार साह, निक्सल देवान, राहुल गुरुङ तथा कमल गाउँपालिका–४ का अरुण राई रहेका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिका–१९ बाट प्रहरीले अमन चौधरीलाई ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी तरहराबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
त्यस्तै, इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बराहक्षेत्र नगरपालिका–३ बाट पुजन राजधामी, रमित राजधामी र समिर राजधामीलाई ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका–१८ बाट भारतको अररियाका प्रवेश कुमार साह र सुरेश कुमार साहलाई २४ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको छ।





प्रतिक्रिया