मुख्य कुरा
- भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेयले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
- सोमबार मात्रै नियुक्त भएका पाण्डेयले छोटो समयमै प्रमाणपत्र बुझाएकाले कूटनीतिक वृत्तमा चर्चा पाएको छ।
- विगतमा नेपाली राजदूतहरूले प्रमाणपत्र बुझाउन डेढदेखि तीन महिनासम्म कुर्नुपर्ने अवस्था थियो।
- विज्ञहरूले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई ध्यानमा राखी प्रक्रिया छिटो अघि बढाइएको हुन सक्ने बताएका छन्।
- भेटमा पाण्डेयले भोटेकोशी बाढीमा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
दमक, मंसिर ४
भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेयले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। प्रमाणपत्र बुझाएपछि उनले राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेटसमेत गरेका छन्।
सोमबार मात्रै राजदूतमा नियुक्त भएका पाण्डेयले छोटो समयमै ओहोदाको प्रमाणपत्र बुझाउन सफल भएपछि यस विषयले कूटनीतिक वृत्तमा चर्चा पाएको छ। उनलाई सम्भवतः नेपालका तर्फबाट भारतमा सबैभन्दा छिटो ओहोदाको प्रमाणपत्र बुझाउने राजदूतका रूपमा हेरिएको छ।
भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले यस्तो प्रक्रिया आवश्यकता र परिस्थितिअनुसार अघि बढ्ने बताए। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जान लागेकाले पनि भारतले नेपाली राजदूतको प्रमाणपत्र छिट्टै स्वीकार गरेको हुन सक्ने उनको भनाइ छ।
यसअघि नेपाली राजदूतहरूले यति छोटो समयमा ओहोदाको प्रमाणपत्र बुझाउने अवसर नपाएको
दीपकुमार उपाध्याय
पूर्वराजदूत दीपकुमार उपाध्यायले यसअघि नेपाली राजदूतहरूले यति छोटो समयमा ओहोदाको प्रमाणपत्र बुझाउने अवसर नपाएको बताए। उनले यसलाई ऐतिहासिक घटनाका रूपमा व्याख्या गर्दै नेपालसँगको सम्बन्ध सुधार गर्न भारत इच्छुक रहेको संकेतका रूपमा लिन सकिने धारणा राखे।
विगतमा नेपालबाट नियुक्त भएर भारत पुग्ने राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाउन डेढदेखि तीन महिनासम्म कुर्नुपर्ने अवस्था थियो। पूर्वराजदूत आचार्यका अनुसार सामान्यतया एकदेखि दुई महिना कुर्नुपर्ने हुन्छ। विभिन्न देशका राजदूतहरूलाई एकैपटक बोलाएर उनीहरूको प्रमाणपत्र स्वीकार गर्ने प्रचलन रहेको उनले बताए।
‘विशेष परिस्थितिका कारण निश्चलजीको प्रमाणपत्र चाँडै स्वीकार गरिएको हो। सोही अवसरमा अर्को देशका राजदूतको प्रमाणपत्र पनि स्वीकार गरिएको थियो,’ आचार्यले भने।
राजदूतले प्रधानमन्त्रीको भ्रमणका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र ओहोदाको प्रमाणपत्र नबुझाएसम्म औपचारिक रूपमा काम गर्न नसक्ने भएकाले प्रक्रिया अघि बढाइएको
विनोज बस्न्यात
अन्तर्राष्ट्रिय मामिलाका जानकार विनोज बस्न्यातको पनि यस विषयमा समान धारणा छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई ध्यानमा राखेर राजदूतको प्रमाणपत्र प्रक्रिया छिटो सम्पन्न गरिएको हुन सक्ने उनले बताए। राजदूतले प्रधानमन्त्रीको भ्रमणका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र ओहोदाको प्रमाणपत्र नबुझाएसम्म औपचारिक रूपमा काम गर्न नसक्ने भएकाले प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक ३० गते डा. पाण्डेयलाई भारतका लागि नेपालको राजदूत नियुक्त गरेका थिए। सोही दिन उनलाई पद तथा गोपनीयताको शपथसमेत गराइएको थियो। त्यसलगत्तै उनी नयाँदिल्ली प्रस्थान गरेका थिए।
ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको शिष्टाचार भेटमा राजदूत पाण्डेयले आफ्नो प्रमाणपत्र स्वीकार गरेकोमा भारतीय राष्ट्रपति मुर्मुप्रति आभार व्यक्त गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ।
उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट भारतीय राष्ट्रपति मुर्मुको व्यक्तिगत सुख, सुस्वास्थ्य तथा भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको कामनासमेत व्यक्त गरेका थिए।
भेटका क्रममा राजदूत पाण्डेयले नेपाल–भारत सम्बन्ध भगवान् राम र सीताको समयदेखि नै जोडिँदै आएको सभ्यतागत, सांस्कृतिक तथा जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गरे।
नेपालले कठिन परिस्थितिको सामना गर्दा भारतबाट प्राप्त सहयोगको प्रशंसा गर्दै उनले विशेषगरी पछिल्लो भोटेकोशी बाढीका बेला भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। साथै नेपालको सामाजिक तथा आर्थिक विकासमा भारत सरकारले निरन्तर गर्दै आएको सहकार्यको पनि उनले सराहना गरे।
भेटका अवसरमा भारतीय राष्ट्रपति मुर्मुले राजदूत पाण्डेयलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। पाण्डेयको कार्यकालमा नेपाल–भारत सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत उनले व्यक्त गरेको नेपाली दूतावासले जनाएको छ।
ऊर्जा तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा दुई देशबीच बढ्दै गएको सहकार्यप्रति खुसी व्यक्त गर्दै राष्ट्रपति मुर्मुले आगामी दिनमा आपसी आदानप्रदानलाई थप विस्तार गर्नुपर्नेमा जोड दिइन्।





प्रतिक्रिया