मुख्य कुरा
- ग्रामिण प्रेस क्लब झापाको प्रथम अधिवेशनले नेत्रविक्रम विमलीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
- अधिवेशन आइतबार हल्दिबारी गाउँपालिका–२ स्थित रेडक्रस सामुदायिक भवनमा सम्पन्न भयो।
- उपाध्यक्षमा प्रितम कुमार धमला, महासचिवमा राजेश आचार्य, सचिवमा अभिषेक खतिवडा र कोषाध्यक्षमा शान्ता उप्रेती चयन भए।
- रेम खरेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समितिले नयाँ समिति चयन गरेको हो।
- प्रमुख अतिथि छविलाल चुडालले ग्रामीण मुद्दा उजागर गर्न स्थानीय पत्रकारको भूमिका महत्वपूर्ण बताए।
झापा। ग्रामीण क्षेत्रका सञ्चारकर्मीलाई संगठित गर्दै व्यावसायिक पत्रकारिताको विकास र स्थानीय मुद्दाको प्रभावकारी उठान गर्ने उद्देश्यले स्थापित ग्रामीण प्रेस क्लब झापाको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
हल्दिबारी गाउँपालिका–२ स्थित रेडक्रस सामुदायिक भवनमा आइतबार सम्पन्न अधिवेशनले नेत्रविक्रम विमलीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा प्रितम कुमार धमला, महासचिवमा राजेश आचार्य, सचिवमा अभिषेक खतिवडा र कोषाध्यक्षमा शान्ता उप्रेती चयन भएका छन्। सदस्यहरूमा रत्न कुमार बुढाथोकी, जनकलाल राजवंशी, बुधलाल किस्कु, श्रीप्रसाद शिवाकोटी, हेमन्त मैनाली र टिकाराम बास्तोला रहेका छन्।
नयाँ नेतृत्व चयनका लागि अधिवेशनको बन्दसत्रले रेम खरेलको संयोजकत्वमा लिलाराज झापाली र गोपाल पोखरेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।
ग्रामीण क्षेत्रका सञ्चारकर्मीलाई संगठित गर्दै तथ्यमा आधारित, व्यावसायिक र उत्तरदायी पत्रकारिताको अभ्यासलाई प्राथमिकता दिइने छ।
नेत्रविक्रम विमली
अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष विमलीले संस्थाको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए। उनले ग्रामीण क्षेत्रका सञ्चारकर्मीलाई संगठित गर्दै तथ्यमा आधारित, व्यावसायिक र उत्तरदायी पत्रकारिताको अभ्यासलाई प्राथमिकता दिइने बताए।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य छविलाल चुडालले ग्रामीण क्षेत्रका ओझेलमा परेका विषय र नागरिकका समस्यालाई सञ्चारमाध्यममार्फत उजागर गर्न स्थानीय पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए।
त्यस्तै, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले ग्रामीण पत्रकारितालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनीहरूले सञ्चारकर्मीको क्षमता विकास तथा पेशागत हकहित संरक्षणमा क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाली मौलिक संस्कृति र पहिचानको प्रवर्द्धन गर्दै अतिथिहरूलाई ढाका टोपी र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
अधिवेशनमा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, वडाध्यक्ष देवीबहादुर थापा, वडा सदस्य रचना कुलुङ राई, झापा उद्योग वाणिज्य संघका महासचिव सुमन मैनाली, हल्दिबारी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाईं, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाका सभापति कर्णखर प्रसाईं, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको थियो।
क्लबका उपाध्यक्ष प्रितम कुमार धमलाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव अभिषेक खतिवडाले गरेका थिए।






प्रतिक्रिया