मुख्य कुरा
- जिफन्टले श्रम तथा ट्रेड युनियन आन्दोलनसम्बन्धी १० हजारभन्दा बढी दस्तावेज एआईमार्फत डिजिटल पुस्तकालयमा रूपान्तरण गरेको छ।
- सन् १९९४ मा स्थापित राष्ट्रिय श्रम स्रोत केन्द्रलाई डिजिटल ज्ञान केन्द्रका रूपमा विकास गरिएको हो।
- कार्यक्रममा ‘द्वन्द्वदेखि सह-अस्तित्वसम्म’ पुस्तक विमोचन गरिएको छ।
- हाल परीक्षण चरणमा रहेको सेवा अनामनगरस्थित केन्द्रबाट उपलब्ध हुनेछ; पछि एपमार्फत दिने योजना छ।
- आईएलओ पुस्तकालयलगायत अन्तर्राष्ट्रिय ज्ञान केन्द्रसँग साझेदारी विस्तार गर्ने प्रयास भइरहेको जिफन्टले जनाएको छ।
काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी ऐतिहासिक दस्तावेजलाई कृत्रिम बौद्धिकता (एआई)मा आधारित डिजिटल पुस्तकालयमा रूपान्तरण गरेको छ। ‘र्याकदेखि स्क्रिनसम्म’ अवधारणासहित महासंघले राष्ट्रिय श्रम स्रोत केन्द्र (एनएलआरसी)लाई आधुनिक डिजिटल ज्ञान केन्द्रका रूपमा विकास गरेको हो।
सन् १९९४ मा स्थापना भएको राष्ट्रिय श्रम स्रोत केन्द्रले सुरुवातमा भौतिक पुस्तकालयका रूपमा सेवा दिँदै आएको थियो। आइतबार आयोजित कार्यक्रममा जिफन्टले एआई प्रविधिको प्रयोगमार्फत केन्द्रमा सङ्कलित पुस्तक, अनुसन्धान प्रतिवेदन, तस्बिर, भिडियो तथा अन्य ऐतिहासिक अभिलेखलाई डिजिटल स्वरूपमा उपलब्ध गराउने नयाँ प्रणाली सार्वजनिक गरेको हो।
कार्यक्रमकै अवसरमा श्रम इतिहासमा आधारित ‘द्वन्द्वदेखि सह-अस्तित्वसम्म’ नामक पुस्तकसमेत विमोचन गरिएको छ।
जिफन्टका संरक्षक विष्णु रिमालका अनुसार राष्ट्रिय श्रम स्रोत केन्द्रमा हाल श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी पुस्तक, अनुसन्धान प्रतिवेदन, आवधिक प्रकाशन, तस्बिर, भिडियो र अन्य महत्त्वपूर्ण सामग्री सङ्कलित छन्। ती सामग्रीको सङ्ख्या निरन्तर बढिरहेको उनले जानकारी दिए।
नयाँ डिजिटल प्रणालीमार्फत ट्रेड युनियन अभियन्ता, प्रशिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताले आफूलाई आवश्यक सूचना र ज्ञान एउटै खोज प्रक्रियाबाट केही सेकेन्डमै प्राप्त गर्न सक्ने जिफन्टको अपेक्षा छ। केन्द्रलाई अभिलेख सङ्कलन गर्ने स्थानमा मात्र सीमित नराखी अध्ययन, अनुसन्धान तथा ज्ञान आदानप्रदानको अन्तरक्रियात्मक मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ।
यसका लागि ‘ज्ञान बाँडौँ, साझेदारी विस्तार गरौँ’ भन्ने अवधारणालाई अघि सारिएको छ। साथै, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को पुस्तकालयलगायत विभिन्न अन्तर्राष्ट्रिय ज्ञान केन्द्र तथा डिजिटल अभिलेखालयसँग संस्थागत साझेदारी विस्तार गर्ने प्रयाससमेत भइरहेको जिफन्टले जनाएको छ।
हाल परीक्षण चरणमा रहेको डिजिटल प्रणालीको सेवा लिन इच्छुक प्रयोगकर्ताले काठमाडौंको अनामनगरस्थित राष्ट्रिय श्रम स्रोत केन्द्रमा उपस्थित भएर उपलब्ध सामग्री तथा सेवाको उपयोग गर्न सक्नेछन्। डिजिटलीकरण प्रक्रिया थप विस्तार भई आवश्यक प्रणाली सञ्चालनमा आएपछि सेवा एपमार्फत उपलब्ध गराउने जिफन्टको योजना छ।
सुरुमा जिफन्ट ट्रेड युनियन स्कुलका शैक्षिक गतिविधिलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको केन्द्र पछिल्लो समय श्रमिक शिक्षा, युवा नेतृत्व विकास तथा प्राविधिक सीप अभिवृद्धिसम्बन्धी प्रशिक्षण र स्रोत केन्द्रका रूपमा विकसित भएको थियो। अहिले भने यसलाई श्रमसम्बन्धी ज्ञानको डिजिटल केन्द्रका रूपमा स्थापित गर्ने अभियान अघि बढाइएको छ।
जिफन्टको अभियानले एसियाली मात्र नभई विश्वभरका श्रमिक आन्दोलनलाई सहयोग पुग्ने छ।
शोया योशिदा
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया प्रशान्त (आईटीयूसी–एपी)का महासचिव शोया योशिदाले जिफन्टको पहलको प्रशंसा गर्दै यसले नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले जिफन्टको अभियानले एसियाली मात्र नभई विश्वभरका श्रमिक आन्दोलनलाई सहयोग पुग्ने धारणा व्यक्त गरे।
कार्यक्रममा एजुकेसन इन्टरनेसनल एपीका क्षेत्रीय निर्देशक आनन्द सिंह, पब्लिक सर्भिस इन्टरनेसनल (पीएसआई)का क्षेत्रीय प्रमुख कन्नन, बीडब्ल्यूआईका अपोलिनार टोलेन्टाइन, डब्ल्यूएसएमका ब्रुनो, आईटीयूसी–एपीका पातुआन तथा सोलिडारिटी सेन्टरकी लुना रञ्जितलगायतको उपस्थिति थियो।
जिफन्टका महासचिव लक्ष्मण शर्माले सञ्चालन गरेको कार्यक्रममा युएनआईका महासचिव राजेन्द्र आचार्यले उद्घाटन मन्तव्य राखेका थिए। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी अतिथिहरूप्रति धन्यवाद ज्ञापन गरिएको थियो।






प्रतिक्रिया