मुख्य कुरा
- मिसन झापाको आयोजना र पूर्वा ग्रुपको सहकार्यमा बिर्तामोडमा 'युवा शिखर सम्मेलन–२०२६' सम्पन्न भएको छ।
- सम्मेलनमा युवा, उद्यमी, शिक्षाविद्, कलाकार र पत्रकारलगायतका सहभागिता रह्यो।
- रोजगारी, उद्यमशीलता, शिक्षा, वैदेशिक पलायन र राष्ट्र निर्माणमा युवाको भूमिकाबारे छलफल भयो।
- पत्रकारिता, खेलकुद र व्यवसाय क्षेत्रका व्यक्तित्वहरू सम्मानित भए।
- सभाध्यक्षता माधवकुमार झाले गरेका थिए भने जलकुमार गुरुङ प्रमुख अतिथि थिए।
झापा । युवाको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा राष्ट्र निर्माणमा उनीहरूको भूमिकाबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको ‘युवा शिखर सम्मेलन–२०२६’ बिहीबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ। मिसन झापाको आयोजनामा तथा पूर्वा ग्रुपको सहकार्यमा आयोजित सम्मेलनमा विभिन्न क्षेत्रका युवा, उद्यमी, व्यवसायी, शिक्षाविद्, कलाकार, पत्रकार तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
सम्मेलनको सभाध्यक्षता माधवकुमार झाले गरेका थिए भने झापा गोल्डकपका संस्थापक अध्यक्ष जलकुमार गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा इन्जिनियर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डिल्लिश्वर कार्की (रोहन), पीएमओ झापाका बेनिज कार्की र राज गौतमको उपस्थिति रहेको थियो।
त्यस्तै, न्युटनका प्रिन्सिपल देवेन्द्र हुमागाईं, कञ्चनजङ्घा स्कुल फाउन्डेसनका डा. केशवराज न्यौपाने, उद्योग वाणिज्य क्षेत्रका राजु न्यौपाने, झापा औषधि व्यवसायी संघका अध्यक्ष जीवन खड्का, व्यवसायी तथा रास्वपा झापाका अध्यक्ष दीपक दाहाल, मेची क्याम्पसका आईटी निर्देशक सुनील शर्मा तथा कृषि एवं पर्यटन विज्ञ सन्तोष लामालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डिल्लिश्वर कार्की, डा. केशवराज न्यौपाने, सुनील शर्मा र सन्तोष लामाले वक्ताका रूपमा आफ्ना विचार प्रस्तुत गरेका थिए।
सम्मेलनमा युवा पुस्ताको वर्तमान अवस्था, रोजगारी, उद्यमशीलता, शिक्षा, सीप विकास, वैदेशिक पलायन, सामाजिक उत्तरदायित्व, नेतृत्व विकास तथा राष्ट्र निर्माणमा युवाको भूमिकालगायतका विषयमा छलफल र विचार आदानप्रदान गरिएको थियो। युवाहरूमा सकारात्मक सोच, सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।
युवाहरूमा सकारात्मक सोच, सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।
आयोजक
कार्यक्रमका अवसरमा पत्रकारिता, खेलकुद तथा व्यवसाय क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। पत्रकारितातर्फ अल्बाट्रस/बीटीएम रक्स पब्लिकेसनका विजय राज भट्टराई र हिमशिखरकी गृष्मा सापकोटा सम्मानित भएका थिए। भट्टराईले १२ वर्षदेखि र सापकोटाले साढे चार वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा योगदान दिँदै आएका छन्।
त्यसैगरी, खेलकुदतर्फ राष्ट्रिय फुटबल खेलाडी रोहन कार्की र तेक्वान्दो खेलाडी दीपेन धिमाललाई सम्मान गरिएको थियो। व्यवसायीतर्फ सरोज उप्रेती, मनोज बस्नेत, उत्सव कार्की, सौरभ मेयर, अशोक चौधरी, सौजन संग्रौला र राज अधिकारी सम्मानित भएका थिए।
मिसन झापाले आयोजना गरेको सम्मेलनमा पूर्वा ग्रुपका अध्यक्ष सुसन राउतको सहकार्य रहेको थियो। सम्मेलनले विभिन्न क्षेत्रमा सक्रिय युवाहरूलाई एउटै मञ्चमा जोड्दै उनीहरूबीच अनुभव, ज्ञान र विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकको विश्वास छ।
बिहीबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बिर्तामोडस्थित साईं पार्टी प्यालेस सिटी सेन्टरमा आयोजित सम्मेलनले युवाको क्षमता, नेतृत्व र सामाजिक सहभागिता अभिवृद्धि गर्दै समाज तथा राष्ट्र निर्माणमा योगदान पुर्याउने विषयलाई प्राथमिकता दिएको थियो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?
१ प्रतिक्रिया






प्रतिक्रिया