मुख्य कुरा
- नेकपा एमाले बाह्रदशीले झापाका युवाहरुसँग ‘कफी विथ कमरेड’ कार्यक्रम आयोजना गरेको छ।
- युवाहरुले एमालेलाई समयानुकूल बनाउँदै विगतका कमजोरी सच्याएर अघि बढ्न सुझाव दिए।
- युवाहरुले नेतृत्व चयन र टिकट वितरणमा पारदर्शी हुनुपर्ने धारणा राखे।
- जेनजी आन्दोलनपछिको भ्रमपूर्ण प्रचारबीच पार्टी च्यानलमार्फत तथ्य सार्वजनिक गर्नुपर्ने सुझाव थियो।
- युवा र पार्टीबीच ठूलो ग्याप रहेको र योग्यताका आधारमा जिम्मेवारी दिनुपर्ने धारणा उठ्यो।
दमक। झापा बाह्रदशीका नवयुवाहरुसँग आज समसामयिक राजनीतिक संवाद गरिएको छ । ‘कफी विथ कमरेड’ नाम दिइएको कार्यक्रममा सो क्षेत्रका युवाहरुको सहभागिता थियो ।
नेकपा एमाले बाह्रदशीले आयोजना गरेको ‘कफी विथ कमरेड’ मा युवाहरुले मुलुकको समसामयिक विषयवस्तुमा चासो राखेका थिए । उनीहरुले जेनजी आन्दोलन, त्यसपछिको राजनीतिक घटनाक्रमका बारेमा जिज्ञासा राखेका थिए । झापामै पहिलो पटक युवाहरुका माझ आयोजना गरिएको रचनात्मक कार्यक्रममा अधिकांश युवाहरुले मुलुकको भविष्यबारे चिन्ता प्रकट गरे । उनीहरुले गाउँघरका समस्याहरु समेत राखेका थिए ।
नेकपा एमालेसँग सद्भाव राख्ने युवाहरुले एमालेलाई समयानुकूल बनाउँदै लैजानुपर्ने धारणा राखेका थिए । विगतका कमजोरीहरुलाई सच्याएर अघि बढ्नुपर्नेमा उनीहरुको जोड थियो । एमालेमा युवाहरुलाई अवसर दिनुपर्ने, समयानुकूल नीति निर्माण गर्नुपर्ने, युवाहरुका लागि प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए । कतिपय युवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टी आन्दोलनमा वर्षौदेखि योगदान गर्ने नेताहरुलाई पार्टीको सल्लाहकार बनाएर जानुपर्ने धारणा राखेका थिए ।
जेनजी आन्दोलनपछि विभिन्न विषयहरुमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै पार्टी च्यानल मार्फत सत्य र तथ्य सार्वजनिक गर्न ढिलाई गर्न नहुने धारणा थियो । ‘कफी विथ कमरेड’ मा सहभागी युवाहरुले नेतृत्व चयन, टिकट वितरणमा पारदर्शी र भुगोलको अध्ययन गरेर मात्रै टिकट वितरण हुनुपर्ने सूझाव दिए ।
नेकपा एमाले र युवाहरुबिच ठूलो ग्याप भइरहेको उनीहरुको धारणा थियो । युवाहरुलाई योग्यता, क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने युवाहरुको सूझाव थियो । कतिपयले युवाले मेहनत गर्ने किसानले अनुदान पाउन नसकेको, समयमा धनीपुर्जा वितरण नभएको जस्ता प्रश्नहरु गरेका थिए । जनप्रतिनिधिहरुले अपेक्षा गरे अनुसार काम नगरेको, पार्टी नेतृत्वसँग जनप्रतिनिधिहरुको समन्वय नभएको विषय समेत उठेको थियो ।






प्रतिक्रिया